नेपाली साहित्यको संरक्षण, सम्बर्द्धन, विस्तार र विकास गर्ने उद्देश्यले सन् २००१ मा औपचारिक रुपबाट वेलायतको सर्नकिल्फमा प्रवासी नेपाली साहित्य समाज (Nepali Diaspora Literature Society) को स्थापना भएको हो । प्रवासमा सक्रिय साहित्यिक संस्थाहरु मध्य अग्रपंतिमा रहेको यस समाजले देशविदेशमा राम्रो परिचय बनाउन सफल भएको छ ।
भनिन्छ नेपाली साहित्यको जग घर छोडेर प्रवास पुगेका लाहूरेहरुले बसाले । कर्मक्षेत्र देहरादुन पुगेका प्रवासी लाहुरेहरुले वि. सं. १९५८ मा ‘गोर्खा सागर’ प्रकाशित गरे, जुनबेला नेपालमा पहिलो पत्रिका ‘गोर्खा पत्र’ प्रकाशन शुरु भएको थियो । प्रवासी लाहुरेहरुले गोर्खा संसार, द नर्दन स्टार, द हिमालयन टाइम्स, तरुण गोर्खा, पर्वते पत्रिका सन् १९५० मा प्रकाशनको शुरु हुदा नेपालमा पत्रकारिताको शुरुवात नै भएको थिएन । त्यसवेला ती पत्रपत्रिकाहरुमा निरंकुश राणा शासनको विरुद्ध कथा, कविता लगायतका सिर्जनाहरु छापिन्थे अफसोच ती कुराहरुलाई अहिले कतै लेखिन्दैन । मास्टर मित्रसेन थापा यस्ता लाहुरे स्रष्टा थिए जसले कथा, कविता, निबन्ध, नाटकमा कलम चलाएर नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिए । नेपाली गीतसंगीतमा समेत वहाको ठूलो योगदान र¥यो । वहा जस्ता साहित्य, संगीत र देश, समाजको सेवामा धेरै प्रवासी लाहुरेहरु थिए र पछिल्लो समयमा शिक्षा, सम्पन्नता संगै झनै बढेकाछन् ।
एक देशले अर्को देश संग सम्झौता गरेर आफ्नो जनतालाई जाँउ भन्दछ र सरकारको हुकुम पालन गरि गोर्खाली सेनामा भर्ति हुनु सरकारको हूकुम पालना गर्नु हो । त्यसैले सरकारको हूकुम मान्नु देशको कुटनैतिक सेवा गर्नु हो । यसरी नेपालीहरुले गोर्खालीको नामबाट सेवा गरेको लगभग २ सय बर्ष भएको छ । श्रीमान र श्रीमति बीच विश्वासको संकट हुने गर्दछ तर गोर्खालीहरुलाई वेलायत, ब्रुनाई, सिगापुर, भारत, दुबई आदी मुलुकहरुमा आफ्नो नागरिकलाई भन्दा बढि विश्वास गर्नु आफैमा ठूलो उपलब्धि हो । यो विन्दुबाट पनि नयाँ दृष्टिकोण बनाउनु पर्दछ भन्ने मान्यता रहेको छ । लामो र गौरवपूर्ण इतिहास निर्माण तथा महत्वपूर्ण उपलब्धिहरु हासिल हुनुमा अंग्रज र हाल सेवारतहरुले धेरै उतारचढावहरु ब्यहोदै आएका छन् ।
दोस्रो विश्व युद्ध, मलाया इमेर्जेन्सी हुदै कन्फन्टेशन र फोकल्याण्ड युद्ध पश्चात वेलायती सेना तथा बृटिस गोर्खाली पल्टनहरु फूर्सदिला भए, थोरै संख्यामा मात्र गोर्खाली चाहिने भयो तब लेखपढ भएकाहरुलाई मात्र भर्ति गर्न थालियो जसले गर्दा लाहूरघरको वातावरणमा विस्तारै परिवर्तन हुन थाल्यो । फाट्फूट्ट साहित्यिक पत्रिका, कृति प्रकाशन हुन शुरु भयो र सन् १९९८ मा प्रवासी वेदनाका आवाजहरु अर्धबार्षिक साहित्यिक पत्रिका प्रकाशन शुरु भयो । त्यो पत्रिका १० वर्ष सम्म निरन्तर प्रकाशन भयो । उक्त पत्रिकाको प्रकाशन तथा सम्पादन काउन्सिलले आयोजना गर्ने विभिन्न साहित्यिक कार्यक्रमहरुमा एक साहित्यिक संस्थाको खाँचो औल्याइयो र सन् २००१ मा वेलायतको सर्नकिल्फमा यस समाजको स्थापना भयो ।
समाजले प्रवास पल्टनघर भित्र विभिन्न साहित्यिक गतिविधि गर्दै आएको छ । प्रत्यक बर्ष एकजना उत्कृष्ट स्रष्टालाई छनौट गरि नगद सहित पुरस्कार र एकजना उत्कृष्ट ब्यक्तित्व छनौट गरि सम्मान गर्दै आएको छ । पुरस्कृत स्रष्टाहरु – सुसनवाला राई २०६२, शशि लुमुम्बू २०६३, रमेश पौडेल २०६४, कृष्ण धरावासी २०६५÷६६ र गणेश रसिक २०६७ रहनु भएको छ भने सम्मान – मेजर किशोर गुरुङ २०६२, नोर्देन तेन्जिङ भुटिया २०६३, रक्ष राई २०६४, गोरे गुरुङ २०६५, डि. वी. बम्जन २०६७ लाई प्रदान गरिसकेको छ । त्यस्तै गरि डा. चन्द्र लक्सम्बा, माष्टर राष्ट्र राई, वेलायतमा प्रथम नेपाली काउन्सिलर धन गुरुङ, गोर्खाली गाथाका प्रबन्धक प्रेम वेघा, डा. कविताराम श्रेष्ठ, शिवधन राई, साहित्यकार येहाङ लावती लगायत विभिन्न कलाकार तथा ब्यक्तित्वहरुलाई प्रसंसा–पत्र प्रदान गरिसकेको छ ।
यस समाजले साहित्यिक कार्यक्रमहरु मात्र नभई प्रत्यक बर्ष विभिन्न कल्याणकारी कामहरु पनि गर्दै आएको छ । काठमाडौंको सडक बालबालिकालाई नयाँ बर्ष २०६२ को अवसरमा खाना, काठमाडौ बालबालिकालाई खाना २०६३, कोशि बाढीपिडितहरुलाई राहत लुगाफाटा वितरण २०६६, भाईटिकाको अवसरमा धरानका सडक बालबालिकालाई लताकपडा वितरण तथा टिका २०६६, उद्यौली चाड (चासोक तङनाम, साकेला, सान्केवा, चासुवा, फलष्यादर) २०६८ को अवसरमा अनाथ आश्रम उदयपुर बेलटारलाई लताकपडा तथा खाद्यन्न वितरण लगायत विभिन्न अवसरहरुमा सांगेतिक कार्यक्रमहरु पनि गर्दै आएको छ ।
संमग्र नेपाली साहित्यको विकास, विस्तार र नेपाली प्रतिष्ठाको लागि स्थापित विश्व नेपाली साहित्य महासङ्घ स्थापनाको लागि पूर्व अग्रसरता देखाई यस समाजले महत्वपूर्ण भूमिका खेल्यो र हाल साहित्य महासङ्घमा आबद्ध रहेको छ । महासङ्घ मुख्य आयोजक र यस साहित्य समाज सह–आयोजक रहि अनलाइन माध्ययमबाटै ‘विश्वब्यापी अडियो खुल्ला गजल प्रतियोगिता २०६७’ सम्पन्न गर्यो । त्यस्तैगरि अनलाइनको नयाँ प्रविधिबाट नेपाली साहित्यको इतिहासमै पहिलो पटक ब्यापक सहभागिता रहेको ‘विश्वब्यापी खुल्ला रेडियो कविता प्रतियोगिता २०६६’ सम्पन्न गरेको थियो ।
यस समाजले गीतहरुको संग्रह ‘सपनाको रङ्ग २०६०’, उपन्यास ‘मृत शहर २०६०’, नियात्रा ‘गृहयुद्धका पीडा २०६१’, दुई कविहरुको संयुक्त कविता संग्रह ‘आँसुको दोभान २०६१’, कविता संग्रह ‘सिमाहिन बिम्बहरु २०६३’ लगायत झण्डै एक दर्जन कृतिहरु प्रकाशन गरिसकेको छ भने ‘प्रवासी वेदनाका आवाजहरु’ साहित्यिक पत्रिकाको पुनः प्रकाशनको जिम्मा पनि लिइसकेको छ ।
यस साहित्य समाजका केन्द्रिय नेतृत्व विभिन्न कालखण्डमा बेग्लाबेग्लै प्रकारको रहेको थियो । समाजको प्रथम संचेतक प्रेम रिबुसाल राई सन् २००१, संचेतक रामकृष्ण सुनुवार सन् २००२, संचेतक छवी लिम्बु २००३, अध्यक्ष मुलिवीर राई सन् २००३, महाअध्यक्ष गणेश राई सन् २००५, महाअध्यक्ष काजीमान लिम्बु सन् २००७, महाअध्यक्षको सहयोगि अध्यक्ष ईश्वर चाम्लिङ सन् २००७, अध्यक्ष सुरेन्द्र इङनाम सन् २००८ र अध्यक्ष विश्वास दीप तिगेला सन् २०११ रहेका छन् ।
वास्तवमा यस समाज वेलायती सेनामा सेवारत गोर्खाली समुदायको प्रतिनिधिमुलक संस्था हो । यो समाज युद्धभूमिमा साँचो र सुन्दर साहित्यको जन्म हुन्छ भन्ने विश्वास राख्दछ । नेपाली साहित्य समृद्ध बनाउन इतिहासमा गोर्खाली लाहुरेहरुको भूमिका महत्वपूर्ण रहेको कुरा माथि नै उल्लेख भइ सकेको छ र उक्त कार्यलाई निरन्तरता दिदै आएको कुरा पनि तमाम स्रष्टा, सर्जक र साहित्यका विभिन्न निकायहरुलाई प्रत्यक्ष अप्रत्यक्ष अवगतै छ ।
पल्टनघर भित्र निजी तवरबाट नियमित प्रकाशन शुरु भएको प्रवासी वेदनाका आवाजहरु पत्रिका र साहित्यिक गतिविधि प्रति चासो राख्नुभई पटकपटक बुझने कार्य तत्कालिन गोर्खामेजर लक्ष्मीभक्त बान्तावा ज्यूले गर्नुभयो र अन्ततः पेन्सन जानुपूर्व युवाहरुको हौसला र प्रोत्साहनको लागि नगद १ हजार पाउण्ड र शिल्ड प्रदान गर्नुभयो । उक्त सांकेतिक अक्षयकोषलाई आधार मानेर प्रत्येक बर्ष समाजले पुरस्कार प्रदान गर्दै आएको हो ।
अन्तमा, नेपालीहरुको पहिचान र प्रतिष्ठाको लागि महत्वपूर्ण भूमिका रहने साहित्य र साहित्यिक गतिविधि लगायत विभिन्न कल्याणकारी कार्यको निमित्त यस साहित्य समाज सबैबाट निरन्तर सहयोग र सद्भाव प्राप्त हुने आस राख्दछ । साहित्यिक अभिवादन ।
Facebook/E-mail: pravasisamaj@gmail.com |